बेलायतका राजा चार्ल्सले राज्याभिषेकमा बोलाए ह्यारी-मेघन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३२ दिन अगाडि
बेलायतका राजा चार्ल्सले राज्याभिषेकमा बोलाए ह्यारी-मेघन

एजेन्सी - अमेरिका गएका छोरा-बुहारीलाई बेलायतका राजा चार्ल्सले आफ्नो राज्याभिषेकमा बोलाएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मेमा हुने उनको राज्याभिषेकका लागि निम्तो पठाइएको छ।

पछिल्लो समय बेलायती राजपरिवार र ह्यारी-मेघनको सम्बन्ध तिक्ततापूर्ण रहिरहदा ह्यारी र मेघन राज्याभिषेक समारोहमा उपस्थित हुने/नहुने टुंगो भइसकेको छैन । केही दिनअघि पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको थियो।

द गार्डियनका अनुसार ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको बताएका छन्। यो भवन १७ औं शताब्दीमा बनेको बताइन्छ।

ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी-मेघन सम्बन्धमा थप तिक्तता आएका बेला उनीहरूलाई घर खाली गर्न भनिएको हो। बेलायतका राजा चार्ल्सले पनि यो कुरालाई स्वीकृति दिएका छन्।

ह्यारी र मेघनले केही दिनमै यो घर छोडेमा राजा चार्ल्सको राज्याभिषेक हुनुअघि नै ह्यारी-मेघनको बेलायती राजपरिवारसँगको सम्बन्ध थप कमजोर हुनेछ।ह्यारी र मेघनलाई खाली गर्न भनिएको घर अर्का राजकुमार एन्ड्रुलाई दिइएको बताएको छ उनी पनि अहिले राजकीय पदमा छैनन्।