पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीलाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीलाई

काठमाडौं - नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् ।

क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्द भण्डारीले अवार्ड हात पारेकी हुन् ।भोटिङका आधारमा विजेता चयन गरिएको यो विधमा उनले कुल ३८ प्रतिशत भोट पाइन् ।

विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत र राष्ट्रिय प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२.५ प्रतिशत थियो ।

यो सबैबाट मिलाउँदा उनले ३८.०८ प्रतिशत मत पाएकी थिइन् । मनोनयनमा परेका अञ्जन विष्टले ३१.१४ प्रतिशत, आसिफ शेखले १४.९९ प्रतिशत, अभिलाषा विष्टले ८.३२ प्रतिशत र डुवान लामाले ७.५० प्रतिशत मत पाए ।

प्रतिभा मालीपछि नेपाली महिला भलिबलले पाएको भरपर्दो ओपन स्पाइकर बनेकी उषाले १३ औं सागमा डेब्यू गरेयता पछाडि फर्केर हेर्नुपरेको छैन । १८ वर्षको उमेरमा उनी आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसकेकी छन् भने राष्ट्रिय टिमको नियमित सदस्य । पछिल्लो दुई वर्ष माल्दिभ्समा क्लब भलिबल प्रतियोगिता खेलेर आफूलाई थप अनुभवी बनाइसकेकी छन् ।

यसकै आधारमा उनी यो अवार्डको मनोनयनमा परेकी थिइन् । उनलाई समर्थकले पनि मन पराएर भोट गरे र उनले यो अवार्ड जितिन् ।