काठमाडौं - नेपाल–अमेरिकाबीचको वैदेशिक व्यापारमा नेपाल नाफामा फर्किएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा अमेरिकासँगको व्यापारमा नेपाल नाफामा रहेको हो । विगत लामो समयदेखि अमेरिकासँगको व्यापारमा नेपालले घाटा व्यहोर्दै आइरहेको थियो । आर्थिक वर्ष २०७८(७९ मा नेपाललाई अमेरिकासँगको व्यापारमा ३२ अर्ब ५ करोड ८४ लाख रुपैयाँ घाटा भएको थियो । सो वर्ष नेपालबाट जम्मा १७ अर्ब ९९ करोड २० लाख रुपैयाँको निर्यात भएको थियो भने अमेरिकाबाट ५० अर्ब ५ करोड रुपैयाँको आयात भएको थियो । चालु आर्थिक वर्ष सुरुका २ महिना अमेरिकासँगको व्यापारमा घाटा ब्यहोरे पनि त्यसपछि निरन्तर नाफा भइरहेको हो ।
असोज महिनादेखि भने नेपालले नाफा आर्जन गर्न सुरु गरेको तथ्याङ्कले देखाएको छ । असोज महिनासम्म नेपालले अमेरिकासँगको व्यापार घाटा उल्ट्याउँदै ४६ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । यो महिना नेपालबाट ५ अर्ब १६ करोड रुपैयाँको सामान निर्यात गर्दा अमेरिकाबाट ४ अर्ब ६९ करोडको आयात भएको थियो ।माघ महिनासम्ममा नेपालबाट अमेरिकातर्फ १० अर्ब ७३ करोड रुपैयाँ निर्यात भएको छ । यस्तै, अमेरिकाबाट नेपालतर्फ १० अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ । यद्यपि, पछिल्ला महिनामा नेपालको निर्यात खुम्चिँदै गएर आयात बढ्दो अवस्थामा रहेपछि व्यापार नाफा खुम्चिएको तथ्याङ्कले देखाउँछ । तर, विगत लामो समयदेखि घाटामा रहेको अमेरिकासँगको व्यापार नाफामा आउँदा नेपाली निर्यातमा खुसीको सञ्चार भएको व्यवसायीहरु बताउँछन्