काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती अस्पतालमा राष्ट्रिय कलाकार र राष्ट्रिय खेलाडीलाई उपचारमा छुटको व्यवस्था गर्ने तयारीमा रहेको बताएका छन् ।
बुधबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री मोदीले निजामती अस्पतालको पुर्नसंरचनाको पक्षमा रहेको बताउँदै निजामती कर्मचारीलाई उपचारमा दिइने छुट अनुसार राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी र राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत कसरी दिन सकिन्छ त्यसबारेमा अध्ययन गरिरहेको जानकारी दिए ।
मन्त्री मोदीले निजामती अस्पताल काठमाडौँमा मात्र रहेकोले यसलाई प्रदेश स्तरमा पनि विस्तार गर्ने सोचमा रहेको उनले बताए । उनले आफ्नो मन्त्रालयको पनि पुर्नसंरचनाको तयारीमा रहेको बताएका छन् । एउटै पदमा कुनै कर्मचारी लामो समयदेखि बसेको भए त्यस्तो ठाउँ परिवर्तन गर्ने, परम्परादेखि चलिआएको मन्त्रालयको शैलीमा परिवर्तन गर्न लागेको पनि उनले बताएका छन् ।