काठमाडौं - राष्ट्रपति उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्।
राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर पुगेका पौडेलले आज पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताए । उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने बताएका थिए।
उनले ८ दलका सांसदहरूले आफूलाई सहयोग गर्ने र निर्वाचित हुनेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएका छन्। कांग्रेससहित ८ दलको समर्थनमा पौडेल गत फागुन १३ मा राष्ट्रपति उम्मेदवार भएका थिए।
उनले संविधानको रक्षा गर्ने पनि बताएका थिए।यसअघिका राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीका पालामा राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडक खाली गर्ने गरिएकोमा आलोचना भएको थियो।
राष्ट्रपति चयनका लागि आज पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा भइरहेको छ।