पीएनजीले यूएईलाई जितका लागि २४७ रनको लक्ष्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५१ दिन अगाडि
पीएनजीले यूएईलाई जितका लागि २४७ रनको लक्ष्य

काठमाडौं - आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई जितका लागि २ सय ४७ रनको लक्ष्य दिएको छ ।  

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको छ । पीएनजीका लागि सेसे बाउ,किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए ।

सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा ८१ रन बनाए । हिरि हिरिले ८५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाए । किप्लीन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए 

यूएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिए । १ सय ९५ रनमा ४ विकेट मात्र गुमाएको पीएनजीले थप ५१ रन बनाउँदा ५ विकेट गुमाएको थियो । 

अन्तिम ५ ओभरमा ४  विकेट गुमाएको पीएनजीले ३१ रन मात्र बनाएको थियो । पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्न चाहान्छ । बिहिबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।

सिरिजमा पहिलो खेल खेल्न लागेको यूएई भने जितका साथ यो सिरिजको सुरुआत गर्न चाहान्छ । तर,घरेलु मैदानमा यूएईलाई सहज रुपले पराजित गरेको पीएनजीलाई पराजित गर्न सहज भने छैन । विश्वकप लिग टू का ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरेको छ । 

यूएई सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।