प्रतिबोरा ९ सय रुपैयाँले सस्तियो मैदाको भाउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
प्रतिबोरा ९ सय रुपैयाँले सस्तियो मैदाको भाउ

काठमाडौं - मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ ।

रुस-युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको भाउमा सुधार हुँदै गएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा (५० किलो) पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ । संघका सहकोषाध्यक्ष ध्रुबअधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो । 

‘अहिले ५० किलोको मैदाको बोराको बजार मूल्य ३ हजार ७ सयमा झरेको छ,’ अधिकारीले भने, ‘झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा झरेको छ ।’ नेपाललाई भारतले गहुँ आयातका लागि अनुमति दिएसँगै बजारमा गहुँको मूल्य ओरालो लागेको संघले जनाएको छ । मैदाको मूल्य घट्नुको फाइदा खाद्यान्न उपजमा पर्ने अधिकारी बताउँछन् ।  यस बीचमा बिस्कुट र चाउचाउको मूल्यमा उच्च वृद्धि भएको र अब मैदाको मूल्य घट्दाको फाइदा यी उत्पादनमा पर्ने उनले बताए । सरकारले भारतसंग माग गरेको ५० हजार मेट्रिकटन गहुँ उद्योगी व्यवसायीहरुले आयात गर्न थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।