काठमाडौ - काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वास्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत (लण्डन) प्रस्थान गरेका छन् । यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।
प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट उनलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदाइ गरेका थिए । मंगलबार बिहान २ बजेको उडानबाट सम्मेलनमा जानु भएका प्रमुख शाहसँग स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, वडा २४ का अध्यक्ष विनोद राजभण्डारी र स्वकीय सचिव भूपदेव शाह रहेका छन् ।
आजदेखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो । मेयर बालेन चैत ५ गते स्वदेश फर्किने छन् ।
ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सह आयोजनामा लण्डनको मेयर रहेका छन् । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ ।