काठमाडौँ - सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू एकीकृत रूपमा अघि बढ्नुपर्ने बताए ।
उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए । अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या समाधानमा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । शर्माले भने, ‘अर्थतन्त्रमा अहिले केही सकारात्मक संकेत देखिएका छन् । त्यसलाई कसरी आशा र विश्वास जगाएर जाने भन्नेमा सन्दर्भमा राष्ट्रले सिंगो रुपमा सोच्नुपर्छ ।’
शर्माले बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको बताएका छन् ।