बेलायतमा टिकटकमाथि बन्देज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२० दिन अगाडि
बेलायतमा टिकटकमाथि बन्देज

काठमाडौं - चिनियाँ कम्पनीको स्वामित्व रहेको लोकप्रिय सोसल मिडिया एप टिकटकमाथि बेलायतले पनि बन्देजको घोषणा गरेको छ ।

सुरक्षाका लागि खतरा भएको ठहर गर्दै बेलायतले सरकारी उपकरणहरुमा टिकटकलाई प्रतिबन्ध लगाएको हो । यसअघि अमेरिका, डेनमार्क तथा बेल्जियम लगायतले सरकारी उपकरणहरुमा टिकटक एप इन्स्टल गर्न तथा चलाउन प्रतिबन्ध लगाइसकेका छन् ।

बेलायती संसदले बिहिबार यस्तो घोषणा गरेको हो । बेलायतका मन्त्रीपरिषद कार्यालयका मन्त्री ओलिभर डाउडेनले संसदमा संसदमा टिकटकलाई सरकारी उपकरणमा बन्देज लगाउने प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावलाई संसदले समर्थन गर्‍यो ।

मन्त्री डाउडेनका अनुसार टिकटकजस्तो जोखिमयुक्त एपबाट सरकारी डाटा तथा सूचनाहरुमाथि नै खतरा पैदा भएको छ । संवेदनशील सरकारी सूचनाहरुको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै उनले त्यसका लागि टिकटकलाई सरकारी उपकरणहरुमा बन्देज लगाउने निर्णय गरिएको बताए । उक्त कदम सुरक्षा विशेषज्ञहरुसँगको सल्लाहमा चालिएको पनि उनको भनाई थियो ।

टिकटकमाथिको प्रतिबन्धका साथै सरकारी उपकरणहरुमा हुने थर्ड पार्टी एप्लिकेसनहरुको व्यवस्थापनका सम्बन्धमा सरकारी नीतिलाई अझै मजबूत बनाइने पनि उनले बताएका छन् ।