प्राज्ञिक ज्ञानदेखि उद्यमशीलतासम्मका विषयमा सय कार्यपत्र प्रस्तुत गरिँदै
काठमाडौं - नेपाल बायोटेक्नोलोजी एशोसिएसन र अन्नपूर्ण अनुसन्धान केन्द्रको आयोजनामा राजधानीमा चौथो अन्तर्राष्ट्रिय बायोटेक्नोलोजी सम्मेलन सुरु भएको छ ।
विश्वविख्यात वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा तिलगंगा आँखा विज्ञान प्रतिष्ठानका संस्थापक/निर्देशक डा. सन्दुक रुइतले एक समारोहबीच पानसमा दियो बालेर सम्मेलनको उद्घाटन गरे।
समारोहमा डा. रुइतले तिलगंगा प्रतिष्ठानले गरेको अनुसन्धान र त्यसले विश्वभर आँखा उपचारमा पुर्याएको महत्वपूर्ण योगदानबारे प्रस्तुति दिएका थिए । ‘आँखाको कन्ट्याक्ट सर्जरी गरी सहज रुपमा इन्ट्राकुलर लेन्स राखिएपछि विश्वभरका लाखौं मानिसले फेरि आँखाको ज्योति पाएका छन् । आँखाको उपचारलाई सर्वसुलभ र सजिलो बनाउन प्रविधिको ठूलो भूमिका छ,’ सम्मेलनको मुख्य वक्तासमेत रहेका डा. रुइतले भने । बायोटेक्नालोजी सम्मेलनबाट प्राप्त निचोडले प्राज्ञिक ज्ञानका साथै उद्यमशीलता विकास गर्न उल्लेखनीय भूमिका खेल्ने उनको धारणा थियो ।
सम्मेलनमा युवा वैज्ञानिक, अनुसन्धाता, विद्यार्थी, प्राध्यापकलगायतको उल्लेखनीय उपस्थिति रहेकोमा खुसी व्यक्त गर्दै निरन्तर लगनशीलता, दृढ इच्छाशक्ति, आत्मअनुशासन, सकारात्मक सोच आदिले वैज्ञानिक अनुसन्धानमा सफलता पाउन सकिने विचार व्यक्त गरे । वरिष्ठ न्युरो सर्जन वसन्त पन्तले बायोटेक्नोलोजीको माध्यमबाट चिकित्सा क्षेत्रमा आमूल परिवर्तन आएको उल्लेख गर्दै मुलुकलाई समृद्ध बनाउन विज्ञान तथा प्रविधि तथा अनुसन्धानमा पर्याप्त बजेट आवश्यक रहेको बताए । सीमित स्रोत–साधनका बाबजुद पनि न्युरो साइन्स तथा सर्जरीका क्षेत्रमा विभिन्न उल्लेखनीय कार्यहरु गरिँदै आएको उनले स्पष्ट पारे ।
युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रप्टले नेपालमा अन्तर्राष्ट्रिय बायोटेक्नोलोजी सम्मेलन भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनमा वैज्ञानिक तथा अनुसन्धाताहरुबाट प्रस्तुत गरिएका कार्यपत्रले बायोटेक्नोलोजीको विकासमा योगदान पु¥याउने धारणा राखे ।
सम्मेलनका संयोजक प्रा. डा. विजया पन्तले कृषि, चिकित्सा क्षेत्र, वातावरण संरक्षण, उद्योग र खाद्य प्रविधिमा नवप्रवर्तन तथा नवीन खोजको माध्यमबाट राष्ट्रको विकासका लागि बायो टेक्नोलोजी (जैविक प्रविधि)को महत्वलाई प्रवद्र्धन गरी त्यसलाई उद्यमशीलतासँग जोड्न यो सम्मेलन उपयोेगी हुनसक्ने बताइन् । ‘प्राज्ञिक क्षेत्र र उद्योगबीच सहकार्यको महत्व र बायोटेक्नोलोजीका अनुसन्धानलाई कसरी उद्यमशीलतासँग जोड्न सकिन्छ भन्ने बारे सम्मेलनले मार्गप्रश्स्त गर्न सक्छ ,’ उनले भनिन् ।
नेपाल बायोटेक्नोलोजी एशोसिएसनका अध्यक्ष प्रा. डा. त्रिविक्रम भट्टराईले विभिन्न देशका वैज्ञानिक र विद्यार्थीहरूबीच आफ्ना अवधारणा र अनुभव आदानप्रदान गर्न सम्मेलनले उचित अवसर सिर्जना गर्ने अपेक्षा गरे । उक्त अवसरमा प्रमुख अतिथि डा. रुइतले जर्नल अफ नेपाल बायोटेक्नोलोजी एशोसिएसनको विमोचन गरेका थिए ।
समारोहमा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट)की प्राज्ञ डा. सानुदेवी जोशी, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, नास्टका सचिव डा. महेशकुमार अधिकारी, डा. हरिदत्त भट्टलगायतले मन्तव्य दिएका थिए ।
‘प्राज्ञिक ज्ञान देखि उद्यमसम्म’ थिमका साथ सुरु भएको सम्मेलनमा विश्वविद्यालय अनुदान आयोग, शिक्षा र विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सहयोग गरेका छन् । सम्मेलनका अन्य साझेदारमा काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, सिएमडिएन, सिनासलगायत संस्था रहेका छन् ।
सम्मेलनमा अस्ट्रेलिया, बंगलादेश, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मलेसिया, नेपाल, कतार, दक्षिण कोरिया, थाइल्यान्ड र अमेरिका गरी १२ देशका करिब २ सय सहभागीको उपस्थिति रहेको छ । सम्मेलनमा १०० वटा शोधपत्रमध्ये ७० वटा शोधपत्र नेपाली विद्वान र युवा अनुसन्धानकर्ताले प्रस्तुत गर्नेछन् ।