सहिद स्मारक 'ए' डिभिजन लिग २०२३ को पाँचौं चरणसम्मको खेलहरु सकिए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
सहिद स्मारक 'ए' डिभिजन लिग २०२३ को पाँचौं चरणसम्मको खेलहरु सकिए

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग २०२३ को पाँचौं चरणसम्मको खेलहरु सकिएको छ ।

अब चैत २० बाट छैटौं चरणका खेलहरु सुरु हुनेछन् । पाँचौं चरणसम्मको खेल सकिदा ३५ खेलहरु सकिएको छ । र, रोयल ब्लु सातदोबाटो युथ क्लबले शीर्ष स्थान कब्जा गरेको छ ।

सातदोबाटोले ५ खेलमा १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले ११ अंक जोडेको छ ।  नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । १० अंक जोडेको जावलाखेल युथ क्लब चौंथो र ८ अंक जोडेको त्रिभुवन आर्मी क्लब पाँचौं स्थानमा रहेको छ ।

पाँचौं चरणको खेल सकिदासम्म मनाङ र चर्च ब्वाइज अपराजित रहेको छ । पाँचौं चरणमा आएर नेपाल पुलिस क्लबले पहिलो एक अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ ।

पाँचौं चरणसम्म कुल ७० गोल भएको छ ।  विपक्षी टोलीविरुद्ध मनाङ, आर्मी, जावलाखेल र एनआरटीले सर्वाधिक ७-७ गोल गरेका छन् । सर्वाधिक गोल खाने टोली एनआरटी रहेको छ । एनआरटीले ११ गोल व्यहोरेको छ  ।   

पाँचौं चरणसम्म सर्वाधिक गोलकर्ता सातदोबाटोका दीपक सिंह ठकुरी रहेका छन् । उनले ५ खेलमा ४ गोल गरेका छन्। यस्तै थ्री स्टारका अजयी मार्टिन र मनाङका सेदजामोल दाभ्लातजोनोभले समान ३/३ गोल गर्दै शीर्ष तीनमा छन् ।

मनाङका रोशन राना मगर,आर्मीका दीपक गुरुङ, मछिन्द्रका आफिज ओलावाले, फ्रेन्ड्सका राफिक एमिनु, एनआरटीका सन्जिब विष्ट,जावलाखेलका सिमान्त थापा, एपीएफका अर्मान्ड बेडोम र खुमलटारका मेसुके ओलुमोउले २/२ गोल गरेका छन् ।