प्रचण्डले देश र जनताको हितमा काम गर्ने विश्वाससहित मत दिन्छौं– देउवा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
प्रचण्डले देश र जनताको हितमा काम गर्ने विश्वाससहित मत दिन्छौं– देउवा

काठमाडाै‌ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । 

प्रधानमन्त्रीले विश्वासको मत पाउने र देश तथा जनताको हितमा काम गर्ने विश्वास उनले व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि सोमवार संसद्मा भएको छलफलका क्रममा देउवाले राजनीतिक स्थिरताका लागि प्रचण्डलाई विश्वासको मत दिने बताएका हुन् । ‘नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत पाउनु नै हुनेछ । उहाँले मुलुकमा विद्यमान चुनौतीको सामना गर्नुहुनेछ । देश र जनताको हितमा काम गर्नुहुनेछ भन्ने विश्वास छ,’ देउवाले भने ।

प्रतिनिधिसभाको शुरूकै अधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको बहस शुरू गरेकाले संसद् जोगाउन प्रचण्डलाई विश्वासको मत दिने बताए ।  ‘प्रतिनिधि सभाको अधिवेशनको शुरूमै अस्थिरताको आवाज सुनिन थालेपछि प्रतिनिधिसभाको पूर्णकाल र राजनीतिक स्थिरताका लागि पुस २६ गते पनि प्रचण्डको पक्षमा मतदान गरेका थियौं,’ देउवाले भने । देउवाले गुणदोषका आधारमा सरकारको समर्थन या विरोध गर्नु संसदीय मूल्य हुने बताए ।