प्रधानमन्त्री कप खेल्न कमजोर टिम ल्याएका होइनौं -एन्फा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
प्रधानमन्त्री कप खेल्न कमजोर टिम ल्याएका होइनौं -एन्फा

काठमाडौं - अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा आमन्त्रित देशलाई कमजोर भन्न नमिल्ने दाबी गरेको छ ।

चैत ८ गतेदेखि १७ गतेसम्म दशरथ रंगशालामा नेपालसहित भुटान र लावसले प्रधानमन्त्री कप फुटबल खेल्दै छन् ।  एन्फाले आफूभन्दा कमजोर टिम भुटान र लावसलाई आमन्त्रण गरेको भनेर आलोचना भइरहेको छ । आलोचनाको खण्डन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले भने, ‘वरीयताकै आधारमा कसैलाई कमजोर मान्न सकिन्न, हामीले कमजोर विपक्षीलाई हेरेर ल्याएका होइनौं ।’

फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा छ भने प्रधानमन्त्री कप खेल्न आउने भुटान १८५ ‍औं र लावस १८७ ‍औं स्थामा छन् । एन्फाले यसअघि प्रतियोगिताका लागि  फिलिपिन्स र मलेसियासँग पनि कुरा भएको तर उनीहरूको समय नमिल्दा सम्भव नभएको बताएको थियो । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको ब्रोडकास्टिङ, डिजिटल र मार्केटिङको अधिकार २० लाख रुपैयाँमा एमडीएसी स्पोर्टस् प्रालिले पाएको छ । एन्फाले टिकेटिङ् भने आफैँले गर्ने जनाएको छ । यसअघि एन्फाले यो प्रतियोगिताको टिकेटिङ्मा ३० लाख र मार्केटिङका लागि ५० लाख न्यूनतम मूल्य तोकेर बोलपत्र आह्वान गरेको थियो ।