मोरङको सकुनामा अनेरास्ववियूका सन्तोष लिम्बू निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४१ दिन अगाडि
मोरङको सकुनामा अनेरास्ववियूका  सन्तोष लिम्बू निर्वाचित

विराटनगर - मोरङको दोस्रो ठुलो क्याम्पस सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका सन्तोष लिम्बू पुनः निर्वाचित भएका छन् ।

लिम्बूले १ हजार ३ सय ८२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा एमाले निकटको अनेरास्वियुका मनोज कार्कीले ६५७ मत पाएका छन् । 

यसअघि २०७३ सालमा भएको निर्वाचनमा पनि लिम्बू नै विजयी भएका थिए । उक्त क्याम्पसमा हिंजो मतदान भएको थियो । स्ववियु सचिवमा भने एमाले निकट अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका निराजन धमलाले एक हजार ६ मत मात्रै ल्याएका छन् ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । उनले १३२५ मत ल्याएका छन् भने अनेरास्वियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएकी छिन् ।

सुकुनामा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियूले गठबन्धन गरेका थिए । सदस्यहरूमा पनि बहुमत सोही गठबन्धनले जितेको छ । सुकुना क्याम्पसमा स्ववियुबाट पहिलो पटक एमाले निकटको अनेरास्ववियुले पराजय भोग्नु परेको छ ।