प्रचण्डमा पद गुम्ने डर रहेको गगन थापाकाे टिप्पणी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
प्रचण्डमा पद गुम्ने डर रहेको गगन थापाकाे टिप्पणी

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । 

मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताए । शुक्रवार साई शिक्षा निकेतन माध्यमिक विद्यालयले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको उल्लेख गरे । उनले बालबालिकाहरूलाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताए । 

बालबालिकाहरूलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने भन्दै उनले तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने धारणा राखे । 

महामन्त्री थापाले साना साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग खार खानु हुने भएकाले उनीहरूलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताए । महामन्त्री थापाले बालबालिकाहरूलाई एक अर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन् ।