काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको अन्तिमसम्ममा नेपालको राष्ट्रिय प्रसारण लाइनमा २८ सय मेगावाट बिजुली जोडिने बताएका छन् ।
घिसिङले चालू वर्षको अन्तिम (असार महिना) सम्मका अवधिमा नेपालको जडित क्षमता २८ सय पुग्ने बताएका हुन् । घिसिङले २०८० सालको साउन महिनासम्ममा नेपालको जडित क्षमता ३ हजार मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणले गरेको बताए ।
हाल नेपालमा बिजुलीको कूल जडित क्षमता २५ सय २० मेगावाट छ । यसको अर्थ नेपालको राष्ट्रिय प्रसारण लाइनमा उक्त क्षमताको बिजुली जोडिएको छ । तर, यीमध्ये वर्षा यामको समयमा केही आयोजनामा समस्या आउन सक्ने र बाढी पहिरोका कारणले केही आयोजना बन्द हुन सक्ने आकलन प्राधिकरणको छ ।
यसरी बढीमा १००/२०० मेगावाट क्षमताका आयोजनाको उत्पादनमा समस्या आउन सक्ने प्राधिकरणको प्रक्षेपण छ ।