गृह मन्त्रालयका सहसचिव शर्माले भेटे आन्दोलनरत मिटरब्याज पीडितलाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३४ दिन अगाडि
गृह मन्त्रालयका सहसचिव शर्माले भेटे आन्दोलनरत मिटरब्याज पीडितलाई

काठमाडौं - गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले आन्दोलनरत मिटरब्याज पीडितलाई भेटेका छन्। 

मंगलबार बिहान प्रधानमन्त्री निवासअगाडि धर्ना दिन गएका पीडितहरूसँग बालुवाटार पुगेर सहसचिव शर्माले कुराकानी गरेका हुन्। शर्मासँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि मिटरब्याज पीडितलाई भेट्न बालुवाटार पुगेका छन्। 

सहसचिव शर्माले पीडितको समस्या यथाशिघ्र समाधान गर्ने आश्वासन दिँदै आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन्। पीडितहरूले प्रधानमन्त्रीसँग भेटेरै आफ्नो कुरा राख्ने अडान राखेपछि सहसचिव शर्माले प्रधानमन्त्रीसँग भेट्ने समय मिलाउने आश्वासन दिए। 

मिटरब्याज पीडितहरू ११ दिन हिँडेर आइतबार काठमाडौं आइपुगेका थिए। आइतबार मातातिर्थमा बसेका उनीहरू सोमबार  राति खुलामञ्चमा बस्न खोजेका थिए।

तर, काठमाडौं महानगरपालिकाले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि पीडितहरू सडक किनारामै रात बिताएर मंगलबार बिहानै बालुवाटार प्रस्थान गरेका थिए। सहसचिव शर्मा र प्रमुख जिल्ला अधिकारी उपाध्यायसँगको भेटमा पीडितहरूले खुलामञ्चमा बस्न नदिने महानगरप्रमुख बालेन शाहबारे गुनासो गरेका थिए।