नेपालसँग एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
नेपालसँग एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो

काठमाडौं - जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागेको छ । 

आगामी जुन १८ तारिखबाट सुरु हुने विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् ।

श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर लिगबाट पुछारमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । यी चार टोलीले सोझै विश्वकप खेल्ने अवसर गुमाएका हुन् । 

अब सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक टोलीले विश्वकप छनोटमा आउनेछन् । आईसीसी विश्वकप लिग टू बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

छनोट प्लेअफबाट अमेरिका शीर्ष र युएई दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । युएईले आज जर्सीविरुद्ध खेल्दैछ सो खेल युएईले जितेमा अमेरिका र युएईको अंक समान ८/८ हुनेछ । 

हेड टु हेडमा अमेरिका युएईभन्दा अघि रहेकाले अमेरिका शीर्ष स्थानमा रहने छ । युएईलाई अमेरिकाले ५ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, लिग टू का शीर्ष तीन र छनोट प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोलीले खेल्नेछन् ।

सुपर लिगमा रहेका आयोजक भारतसहित शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाएका छन् । अब दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टोली सोझै विश्वकपमा पुग्दा एक टोलीले छनोट खेल्नु पर्ने हुन्छ । 

सुपर लिगमा नेदरल्यान्डसहित १२ टेस्ट राष्ट्र गरि १३,लिग टू मा ७ र विश्वकप छनोट प्लेअफमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

सुपर लिगमा दक्षिण अफ्रिका २१ खेलमा ९ मा जित र १० मा हारसहित ९८ अंकका साथ आठौं स्थानमा छ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंकका साथ ११ औं स्थानमा छ । 

आगामी मेमा आयरल्यान्डले बंगलादेशसँगको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्दै छ । सो सिरिज क्लिनस्विप गरेमा आयरल्यान्डको ९८ अंक हुनेछ । समान अंक हुँदा दुवै टोलीको पहिला जित हेरिन्छ । दुवै टोलीको जित प्रतिशत पनि बराबर हुनेछ । त्यसपछि हेड टु हेड हेरिन्छ ।

हेड टु हेडमा पनि दुवै टोली बराबर रहेका छन् । सुपर लिगमा आयरल्यान्ड र दक्षिण अफ्रिकाबीचको तीन खेलको एकदिवसीय सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

आयरल्यान्डले बंगलादेशमाथि तीनै खेल जितेको खण्डमा नेटरनरेट हेरिनेछ । अहिले दक्षिण अफ्रिका नेटरनरेटमा अगाडी रहेकोले ३ खेलमा आयरल्यान्डले रनरेट राम्रो बनाउनु पर्ने हुनेछ । 

तर, सिरिजमा एक खेलमा पनि आयरल्यान्ड पराजित भएमा अथवा अंक बाडेमा दक्षिण अफ्रिका विश्वकपका लागि छनोट हुनेछ । विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।