तनहुँ - नेकपा एमालेबाट तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका सर्वेन्द्र खनालले आफूले जालझेलको राजनीति गर्न नजानेको बताएका छन् ।
उनले आफ्नो राजनीति देश र जनताको हितका लागि भएको बताए ।
आफूसँग ३० वर्ष राष्ट्र सेवकको रूपमा काम गरेको अनुभव रहेको चर्चा गर्दै उनले देशको भ्रष्टाचार र बेथिति नियन्त्रण र न्यूनीकरणमा महत्त्वपूर्ण योगदान गर्न सक्ने दाबी गरे । ‘मेरो उम्मेदवारीमा देश र जनताको सेवा बाहेक अन्य कुनै स्वार्थ छैन, आम नागरिकको मुहारमा खुसी ल्याउने काम मात्र गर्नेछु’ उनले भने ।
राजनीतिको लामो अनुभव नभए पनि मुलुकको कानुनी व्यवस्था र कार्यान्वयनका मामलामा नजिक रहेर काम गरेकाले संसद्को रूपमा प्रभावकारी काम गर्न सक्ने उनले दाबी गरे ।
समृद्धिका लागि सुरक्षित वातावरण अपरिहार्य भएकाले सुरक्षालाई प्रमुख प्राथमिकता दिएर भ्रष्टाचारमा शून्य सहनशीलता र पारदर्शीकालाई अग्र स्थानमा राख्ने उनले प्रतिबद्धता व्यक्त गरे । जनताका समस्यामा भन्दा सत्ता केन्द्रित राजनैतिक प्रवृत्तिले जिल्लाको अपेक्षित विकास नभएको उनले टिप्पणी गरे ।