सन्दीप लामिछानेको मुद्दामा बुधबार पनि सुनवाई हुन सकेन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०२ दिन अगाडि
सन्दीप लामिछानेको मुद्दामा बुधबार पनि सुनवाई हुन सकेन

काठमाडौं - बुधबार राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा पनि सुनवाई हुन सकेन ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको सुनुवाईका लागि पेशी तोकेको थियो । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा १४ औं नम्बरमा पेशी तोकिएको थियो। तर, सन्दीपको मुद्दा 'हेर्न नभ्याईएको' सूचीमा राखिएको छ । 

यस अघि पुस १३ गते पेशी तोकिएपनि मुद्दाको सुनुवाई स्थगित भएको थियो । सन्दीपलाई थुनामै पठाउने न्यायाधीशकोमा पेशी तोकिएपछि सन्दीपका वकिलले सुनुवाइ सार्न निवेदन दिएका थिए ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।  

थुनामुक्त भएका सन्दीपले राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेलहरु खेलिसकेका छन् । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।