काठमाडौँ - यही चैत ३० गते ४ विद्यार्थी संगठनहरूबीच स्ववियु निर्वाचन गराउने सहमति भएको छ ।
यसअघि निर्वाचन हुन बाँकी रहेका कलेजहरूले छुट्टाछुट्टै मितिमा निर्वाचन गराउने तयारी गरेका थिए । तर, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरूबीच पाटन संयुक्त र अस्कल बाहेकका क्याम्पस तथा कलेजहरूमा चैत ३० गते निर्वाचन गर्ने भएको हो ।
पाटन संयुक्त र अस्कलमा भने यसअघि तोकिएको मितिमा नै निर्वाचन हुनेछ । जसअनुसार अस्कलमा भोलि निर्वाचन हुन लागेको छ । त्यस्तै पाटन संयुक्त क्याम्पसमा २५ गते निर्वाचन हुँदैछ । ती बाहेकका रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल कमर्स क्याम्पस लगायतका क्याम्पसमा भने ३० गते निर्वाचन हुने भएको हो ।
क्याम्पसहरूले सोही आधारमा तयारी थालेका छन् । आरआरमा २६ गते निर्वाचन हुने कार्यतालिका थियो । तर, हिजो नेविसंघले विभिन्न माग राखेर तालाबन्दी गरेको थियो । जसले गर्दा निर्वाचन अनिश्चित बनेको थियो ।