सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीका अध्यक्ष केसीले हस्ताक्षर नगरेको जनमोर्चाको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीका अध्यक्ष केसीले हस्ताक्षर नगरेको जनमोर्चाको भनाइ

काठमाडौँ - सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर नगरेको राष्ट्रिय जनमोर्चाले बताएको छ। 

शुक्रबार विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष केसीले दस दलको तर्फबाट सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा आफ्नो बिमती भएपनि प्रधानमन्त्री कार्यालयले हस्ताक्षर राखेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय र नागरिकता लगायतका विषयमा जनमोर्चाको गम्भीर मतदभेद रहेको बताए। त्यसकारण सरकारको न्यूनतम साझा कार्यक्रममा आफूले हस्ताक्षर नगरेको अध्यक्ष केसीले जानकारी दिएका छन्। 

‘अघिल्लो पाँच दलीय गठबन्धन सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा पनि  हामीले हस्ताक्षर गरेका थिएनौं,’ विज्ञप्तिमा भनिएको छ,‘ अहिले पनि हाम्रो त्यो नीति कायम नै छ।’

हस्ताक्षरका सम्बन्धमा प्रधानमन्त्रीसँग सम्वाद भएको भएपनि न्यूनतम साझा कार्यक्रमका सवालमा नरहेको विज्ञप्तिमा उल्लेख छ। जनमोर्चाले प्रधानमन्त्री कार्यालयबाट भ्रमबस न्यूनतम साझा कार्याक्रममा अध्यक्ष केसीको हस्ताक्षर परेको जानकारी गराएको छ। 

दस दलीय गठबन्धनले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम उल्लेख गरिएको १३ पृष्ठ लामो दस्तावेज सार्वजनिक गरेको थियो। उक्त दस्तावेजमा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दस दलका प्रमुख नेताहरूको हस्ताक्षर छ।