बुटवल - राजधानीका विषयमा रुमलिन नहुने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।
शुक्रबार होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ११ औँ अधिवेशनको उद्घाटन गर्दै पौडेलले राजधानीको विषय छाडेर अन्य काम तिर लाग्न निर्देशन दिएका हुन् ।
होटल व्यवसायीहरुले प्रदेशको राजधानी दाङ लगिएपछि बुटवलमा आर्थिक प्रभाव परेको बताएका थिए । त्यसको जवाफमा पौडेलले विगतका कुराहरुलाई लिएर तनाव नलिएर आगामी दिनको योजनाका बारेमा छलफल गर्नुपर्ने बताए ।
विश्वका धेरै देशहरूका राजधानी एक सहरमा र आर्थिक केन्द्र अर्को सहरमा भएको उदाहरण दिँदै उनले बुटवल पनि आर्थिक केन्द्र भएको दाबी गरे ।उनले बुटवलमा बनेका विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलहरूलाई सञ्चालनमा ल्याइने जिकिर पनि गरेका छन् ।