शीतल निवासको फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९८ दिन अगाडि
शीतल निवासको  फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन

काठमाडौं - सोमबार बिहान राष्ट्रपति कार्यालयले फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ ।

शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो ।

तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान दिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्रका कार्यालयबाट पनि फोहोर उठेको छैन ।

फोहोरमैला व्यवस्थापन संघका अनुसार सरकारी कार्यालयबाट दैनिक करिब ९ टन फोहोर संकलन हुन्छ । महानगरपालिकाले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने संघले जनाएको छ ।