माओवादी नेतालाई जेल कोच्ने सपना पूरा हुने छैन - सांसद महरा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२५ दिन अगाडि
माओवादी नेतालाई जेल कोच्ने सपना पूरा हुने छैन - सांसद महरा

काठमाडौं -राष्ट्रिय सभाका सदस्य महेश कुमार महराले विस्तृत शान्ति सम्झौतालाई भंग गर्ने प्रयासहरु हुन थालेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद महराले भने, ‘विस्तृत शान्ति सम्झौतालाई भंग गरेर फेरि देशलाई द्वन्द्वतिर लैजाने किसिमका अभिव्यक्तिहरु, घटनाक्रमहरु भइरहेका छन् ।’ १० वर्षे जनयुद्धको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गर्दै उनले त्यसलाई अन्यथा ब्याख्या नगर्न आग्रह गरे ।

जनयुद्धले ल्याएको उपलब्धि मान्ने तर, जनयुद्धलाई नमान्ने हुन नसक्ने उनले बताए ।जनयुद्धलाई अपराधीकरण गरेर माओवादी नेताहरुलाई जेल हाल्ने सपना नदेख्न आग्रह गर्दै उनले भने, ‘शान्ति प्रक्रियालाई अल्झ्याएर माओवादी नेताहरुलाई जेल कोच्ने सपना जुन देखिरहेको छ । कसैले त्यो सपना देख्छ भने त्यो दिवा सपना हुनेछ । त्यो पूरा हुने छैन ।’