काठमाडौं - संसदको बैठकहरु पर्याप्त नराखिएको र राखिएको बैठकलाई पनि उपलब्धीपूर्ण बनाउन नसकेको भन्दै नेकपा एमालेले सरकारले आलोचना गरेको छ ।
सोमबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाको पहिलो बैठक बसेको ९१ दिन पुगेको र यसबीचमा २१ वटा मात्रै बैठक बसेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।
४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित भएको प्रतिनिधिसभा सदस्यहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । यसबीचमा जम्मा २१ वटा बैठक बसेको उल्लेख गर्दै गिरीले भने, ‘२१ वटा बैठक बस्दा पनि उपलब्धी के भयो ? एउटा पनि ऐन निर्माण गर्न सकिरहेका छैनौं ।’
देशको अर्थतन्त्रबारे सबैतिर चिन्ता प्रकट भइरहेको भन्दै उनले सरकारलाई यसबारे सदनलाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।