काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे भने विदेशी खेलाडी मोजेजले एक गोल थपेका थिए ।
फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए । खेलको ५१ औं मिनेटमा मोजेजले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए । पुलिसले सातौं चरणमा आएर पहिलो जित निकालेको हो ।
जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको छ । पुलिस १३ औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ।