नेप्से ४.९३ प्रतिशतले उकालो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०२ दिन अगाडि
नेप्से ४.९३ प्रतिशतले उकालो

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ प्रतिशतले उकालो लागेको छ । आज बुधबार कारोबार सुरु भएदेखि नै उकालो लागेको नेप्से परिसूचक ४.९३ प्रतिशतले बढेर बन्द भएको हो । 

यो भनेको ९२.२२ अंकको वृद्धि हो । ९२ अंकले बढेसँगै नेप्से परिसूचक १९ सय ६३ अंकमा पुगेको छ । यसक्रममा आज कारोबार रकम पनि बढेको छ । ६१ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा १ हजार ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयर बढेको छ । कारोबार भएकामध्ये २१८ वटै कम्पनीको सेयर मूल्य बढेको हो । आज ५ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । यसबाहेक, ११ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबार भएका सबै समूहमा समेत सुधार आएको छ । १३ वटा समूहमध्ये १३ वटै समूहमा सुधार आएको हो । आज सबैभन्दा धेरै जीवन बीमा समूहमा ४४३ अंकको सुधार देखिएको छ । यस्तै, निर्जीवन बीमा समूहमा ३४३ अंकको सुधार आउँदा उत्पादनमूलक उद्योग समूहमा २१८ अंकको सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा समेत उत्साहजनक सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अर्थतन्त्र सुधारात्मक अवस्थामा देखाएको थियो । ८ महिनासम्ममा विदेशबाट भित्रिने रेमिट्यान्स २५ प्रतिशतले बढेको देखाएको थियो भने चालू खाता समेत ४४ अर्ब रुपैयाँ मात्रै घाटामा देखिएको थियो । यस्तै, अन्य सूचक समेत सकारात्मक देखिएपछि आज नेप्सेले त्यसलाई स्वागत गरेको हो ।

हिजै नेप्से परिसूचकमा २७ अंकको सुधार आएको थियो ।