१९ औं एसियाली खेलकुदका लागि बैशाखबाट खेलाडीको विशेष प्रशिक्षण सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२२ दिन अगाडि
१९ औं एसियाली खेलकुदका लागि बैशाखबाट खेलाडीको विशेष प्रशिक्षण सुरु

काठमाडौं - चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि बैशाखबाट खेलाडीको विशेष प्रशिक्षण सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष प्रशिक्षण बैशाखबाट सुरु हुने जनाएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटिको सिफारिसमा विशेष प्रशिक्षण बैशाख ३ गतेबाट सुरु भएर भदौ ३१ गतेसम्म संचालन हुने जानकारी दिए । चीनको हाङझावमा आयोजना हुने एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ ।

एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउदै छ । नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल (महिला), गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल(महिला), कबड्डी (महिला) , टेबलटेनिस, भलिबल (महिला), ब्याडमिन्टन, क्रिकेट(पुरुष) र सुटिङमा सहभागिता जनाउनेछ ।

विशेष प्रशिक्षण सुरु अघि बैशाख ३ देखि ७ गतेसम्म खेल संघले पहिलो चरणमा खेलाडी छनोट गर्नेछ । यस्तै बैशाख ११ देखि जेठ ३ गतेसम्म पहिलो चरणमा ४ सय २५ जना खेलाडी छनोट हुने छन् ।

दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ ।  जसमा २ सय ९५ जना खेलाडी रहने छन् । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म हुनेछ ।  जसमा १ सय ६८ खेलाडी रहने छन् ।

अन्तिम चरणमा छनोट हुने १ सय ६८ खेलाडीले एसियाली खेलकुदमा सहभागिता जनाउने छन् ।  

सदस्य–सचिव घिसिङले हाल तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएको जानकारी गराए ।

सदस्य सचिव घिसिङले पदक जित्ने मुख्य तीन खेल तेक्वान्दो, कराते र बक्सिङलाई प्राथमिकतामा राखिएको बताए । त्यसबाहेक एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन र महिला भलिबललाई प्राथमिकतामा राखिएको बताएका छन् ।