काठमाडाै -एमाले नेता एवं सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदबाट हराएको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहाल संसदमा नआएकोमा व्यंग्य गरे। ‘प्रहरीले नागरिक हराएको वेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसदभवन नयाँ बानेश्वरमा बुझाउनू’ भनेर सूचना जारी गर्ने वेला आएको बताए।
उनले भने, ‘नागरिकको नाम श्री पुष्पकमल दाहाल । चलनचल्तीको नाम प्रचण्ड । अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया पहिलेपहिले कोट पेन्ट लगाउने गरे पनि हाल दाैरा, सुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेजस्तो देखिने। उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसदभवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिमपटक देखिएका स्थान बालुवाटारको छेउछाउ।’
सांसद पन्तले केही दिनअघि संसदमा झुलुक्क झल्किएका प्रधानमन्त्री दाहाललाई आफूले अन्तिमपटक बालुवाटारछेउछाउ देखेको कटाक्ष पनि गरे ।