सेमेस्टर प्रणाली विद्यार्थीहरूको लागि प्रभावकारी हुन सकेन- कोइराला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०८ दिन अगाडि
सेमेस्टर प्रणाली विद्यार्थीहरूको लागि प्रभावकारी हुन सकेन- कोइराला

काठमाडाै‌ - शिक्षाविद् एवं प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठुला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको भन्दै उच्च शिक्षामा राज्यको उदासीनता बढेको बताएका छन्। 

जसका कारण अहिलेको सेमेस्टर प्रणाली विद्यार्थीहरूको लागि प्रभावकारी नभएको उनको भनाइ छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले मङ्गलवार गरेको कार्यक्रममा बोल्दै उनले शिक्षामा बजेट पर्याप्त नभएका कारण सामुदायिक विद्यालयको पहुँच घट्दै गएको बताए । उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै मेकानिजम स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने उनको बुझाई छ । हालसम्म सरकारले तलदेखि उच्च शिक्षासम्म हेर्दै आएकाले दृष्टि पुग्न नसक्दा नेपालको शिक्षा क्षेत्र फस्टाउन नसकेका कोइरालाको जिकिर छ । 

वरिष्ठ अधिवक्ता तथा नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्ष डा.बुद्धबहादुर थापाले नेपालमा भोलिका दिनमा न पाठ्यक्रम, न पाठ्य पुस्तक, न शिक्षक कोही नहुने दिन आउने चिन्ता व्यक्त गरे ।  बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्दै हालसम्म चल्दै आएको भन्दै नयाँ नीति नबनेसम्म शिक्षाको क्षेत्रको विकास सोचे अनुसार नहुने बताए । शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ललगायतले पनि आफ्नो धारणा राखेका थिए ।