काठमाडाै -प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्ने भनिएको परिषद्को बैठक केही ढिला हुँदा ९ बजेपछि मात्रै सुरू भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर र उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी छन्। रक्षा मन्त्रालयको नेतृत्वमा रहेका उपप्रधानमन्त्री खड्कालाई मंगलबार मात्रै कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो। यसअघि कानुन मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखेका थिए।
प्रधाननन्यायाधीश नियुक्तिका लागि छलफल गर्दा कानुन मन्त्री पनि संवैधानिक परिषद्को वैठकमा सहभागी हुने व्यवस्था रहेकाले मन्त्री खड्कालाई तत्कालका लागि कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो। सोमबार बालकोट बैठकले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने सहमति गरेको थियो।