काठमाडौं - १३ दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन।
परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण शुक्रबार पनि सिंहदरबारको फोहोर नउठाएको जानकारी दिएका छन् ।
‘मेयर बालेनले नभनेसम्म हामी फोहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने, ‘फोहोर उठाए लाइसेन्ससमेत खारेज गरिदिन्छु भनेर ठाडो निर्देशन दिनुभएको छ।’
मेयर बालेनले मौखिक रूपमा निकै कडा निर्देशन दिएका कारण आफूहरूले फोहोर नउठाएको घिमिरेले बताएका छन्। यस्तै सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट फोहोर नउठ्ने बताएका छन्। बालेनले चैत २५ गते बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए।
बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो। बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो।