साउदीसँग अंक बाँड्दै नेपाल सेमिफाइनलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८३ दिन अगाडि
साउदीसँग अंक बाँड्दै नेपाल सेमिफाइनलमा

काठमाडौं - सोमबार वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन्। साउदीसँग अंक बाडेसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समूह 'ए' मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आ-आफ्नो तेस्रो खेल खेल्ने तय थियो । तर, वर्षा नरोकिएपछि टस समेत नभई खेल रद्द भएको छ ।

साढे १० बजे पानी रोकिएपछि मूलपानी क्रिकेट मैदानमा ढाकिएको पिचको कभर हटाइएको थियो। यता, आउट फिल्ड सुपर सापरले सुकाइएको थियो । तर, साढे ११ बजेपछि पुनः पानी पर्न थालेपछि पिच कभरले फेरि ढाकिएको थियो ।

खेल रद्द हुने भएपछि नेपाली टोलीका सम्पूर्ण खेलाडी  मैदानमा उपस्थित दर्शकसँग फोटो खिचेर बाहिरिएका थिए ।

प्रतियोगितामा नेपालले यस अघि लगातार दुई खेल जितेको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।

यता, साउदीले पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियोे। दोस्रो खेलमा साउदीले कतारलाई ७ विकेटले पराजित गरेको थियोे।

शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक रहेको छ। साउदी ३ अंकसहित तेस्रो स्थानमा छ। नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ।