काठमाडाैं- युवालाई देश विकासको आधार तथा सुनौलो भविष्यका लागि ज्यादै महत्वका साथ हेरिन्छ । देशका हरेक क्षेत्र- राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिकलगायतमा नवीन परिवर्तन ल्याउने कार्ममा युवावर्गको भुमिका अहम् रहन्छ।
विकास निर्माणमा युवालाई कसरी सहभागी गराउने, उद्यमशीलतासँग युवालाई कसरी जोड्ने, समाजलाई सभ्य बनाउन युवाको भूमिका के हुने भन्नेबारे हाम्रा छलफल र बहस केन्द्रित गर्न जरुरी छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्छ ।
हाम्रो सन्दर्भमा हेर्दा विकास–निर्माणमा र युवालाई नेतृत्वमा पुर्याउने कार्यमा राज्य चुकेको छ। युवावर्गलाई देशभित्रै रहेर राष्ट्र निर्माण कार्यमा अहम् भूमिका निर्वाह गर्ने वातावरण निर्माणका लागि राज्यले युवामैत्री नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न जरुरी देखिन्छ। नेतृत्वमा युवा सहभागिताका बारेमा धेरै नै चर्चा र बहस हुने गरेको छ। निष्कर्षमा युवालाई नेतृत्व तहमा पुर्याउने कुरा पनि हुन्छन्, तर व्यवहारमा त्यसले मूर्तरूप प्राप्त गर्न त्यहाँ पनि युवावर्गको नेतृत्व नहुँदा अनेकौँ असहजता देखिने गरेका छन् । नेताहहरूको हालीमुहालीले त्यस क्षेत्रमा पनि प्रदूषण सर्वविदितै छ ।
देशमा युवालाई आकर्षित गर्ने नीति तथा कार्यक्रम नहुँदा दैनिक २ हजार बढी युवा खाडी राष्ट्रलगायतका अनेकौं राष्ट्रमा पुगेर श्रम बेच्न विवश छन् । न्यूनतम पारिश्रमिक, त्यसमा पनि नाना थरीका पीडा सहेर ५० डिग्रीको तापक्रममा रहेर पसिना बगाउन बाध्य छन्। युवाशक्तिलाई वशमा राख्न नसक्दा, आफ्नो घरखेत नै बन्दकी राख्नुपर्दाको अवस्था कम पीडादायी छैन।
नेपालमा गरिएको सम्झौताअनुसार काम गर्न नपाइँने, तोकिएअनुरूपको तलब सुविधा नपाउने, अन्य सेवासुविधा पनि उल्लेख गरिएअनुसारको नदिने जस्ता समस्याले पनि कयाैं नेपाली श्रमिकहरू ग्रसित छन् । यस अर्थमा मूलनीति निर्माण तहमा नै युवावर्ग नेतृत्व हुन जरूरी देखिन्छ । किनकि यसले सबै क्षेत्रमा दूरगामी प्रभाव पार्छ नै । जसरी मुहान स्वच्छ भएर पानी बग्छ उसैगिर त्यहाँबाट बग्ने नदि स्वच्छ रहन्छ । यसरी नै राजनीतिको शीर्ष नेतृत्वमा युवावर्ग पुग्न सके मात्र त्यसको प्रभाव अन्य क्षेत्रमा पर्छ ।
नेपालको राजनीतिक परिवर्तनमा पनि युवावर्गको भुमिका सदैव प्रशंसनीय रहेको छ, चाहे त्यो २००७ सालको विद्यार्थी आन्दोलन नै किन नहोस् । त्यसैगरी ०४६ सालको पहिलो जनआन्दोलन सफल बनाउन पनि युवा विद्यार्थीवर्गको महत्वपूर्ण भूमिका रह्यो । युवाले यसको विपरीत आफू आबद्ध दल र संगठनले जतिसुकै नराम्रो काम गरे पनि त्यसको विरुद्ध चुँसम्म नबोल्ने र कसैले विरोध गरे भने उल्टै प्रतिवाद गरेर गलत कार्यलाई प्रोत्साहन गरिरहेका हुन्छन् भने फरक विचार, आस्था र सिद्धान्त भएको दल वा संगठनले ल्याएका राम्रा, उपयोगी र ग्रहणयोग्य विचारलाई दबाउने, राम्रो कामको प्रशंसा गर्न दरिद्रता प्रदर्शन गर्नेजस्ता व्यवहार गरेर हुन्छन्।
समाजले युवासँग अपेक्षा गरेको अर्को विषय युवाले कुनै एक दलको नेताको भक्तको रूपमा जीवन व्यतीत नगरी आफू आबद्ध दलको नेता र त्यो दलले लिएको कार्यशैली जनअपेक्षाविपरीत भएमा र त्यसलाई आफ्नो पहलमा सुधार गर्न नसके अरु जुन दलले जन अपेक्षा सम्बोधन गरेको छ त्यसलाई समर्थन गर्ने हिम्मत गरोस् तर यसको सट्टामा उनीहरू उल्टै आफू आबद्ध दलको गलत कार्यको ढाकछोप गरी जनतालाई भ्रम छर्न कम्मर कसेर लाग्छन् ।
समाजले गरेको अर्को अपेक्षा के हो भने निर्वाचनका समयमा दलको आवरण ओढेर आफ्नो कुकर्म छोप्न खोज्ने उम्मेदवारलाई नङ्ग्याउन र राम्रो आचरण र विचार भएको समाज विकासमा दूरदृष्टि राख्ने उम्मेदवार जोसुकै भए पनि उसलाई निर्वाचित हुन सहयोग गरोस्, तर युवाहरू राम्रो होइन कुहिएको भए पनि हाम्रै हुनुपर्छ भनी तिनै खराब छवि भएका पात्रलाई काँधमा बोकेर हिँडिरहेका हुन्छन् ।
लोकतन्त्र स्थापना गराउने ०६२-६३ सालको दोस्रो जनआन्दोलन सफल बनाउनमा पनि युवावर्गको भूमिका अद्वितीय रहन गयो । समग्रमा युवा नै देशको समस्त विकासको महत्वपूर्ण जनशक्ति हुन्, तसर्थ उनीहरूलाई परिचालन गर्नका लागि राज्यले आकर्षित र कार्यान्वयन गर्ने नीति निर्माण गर्नु जरुरी छ । जसमा युवालाई कृषि पर्यटन र अन्य विविध क्षेत्रमा स्वदेशमा नै रहेर कार्य गर्ने युवामैत्री वातावरण सिर्जना गर्नमा विलम्ब गर्नु हुँदैन । जसरी राजनीतिक परिवर्तनमा युवाको योगदान अतुलनीय रह्यो, त्यसैगरी देशको आर्थिक विकासमा उनीहरूलाई उपयोग गर्नुपर्छ ।
देशमा सम्वृद्धि भित्राउन सक्रिय राजनीति र शासन सत्ता होइन परम्परागत दार्शनिक सोचबाट माथि उठी नयाँपुस्ताको नयाँ सोच र जोसका साथ दरिलो कार्यदल गठन गरी आपसी सहकार्य र साझेदारीमा काम अगाडि बढाउन आवश्यक देखिन्छ, जसमा हरेक पाटो समेटिएको होस् र निर्भय र निष्पक्ष रुपमा काम सक्षम रहोस् ।