काठमाडौं - आगामी बजेटमा सांसद विकास कोष कार्यक्रम राख्न नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसले आगामी बजेटबारे सल्लाह सुझाव लिन मंगलबार संसदीय दलको बैठक राखेको थियो ।
सो क्रममा बजेटमा सुझाव पेश गर्दै सांसदहरुले सांसदले निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्रीसमक्ष माग गरेका बैठकमा सहभागी एक नेताले भने ।
नाम उल्लेख नगर्ने शर्तमा ती सांसदले भने, ‘सबैजसोको जोड सांसद विकास कोषमा थियो ।’ अर्थमन्त्री डा. प्रकाशशरण महले भने बजेटमा स्रोत जुटाउन कठिन रहेको भन्दै भएका स्रोतबाट राम्रो काम गर्ने बताएका थिए ।
२०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाममा सांसदले निर्वाचन क्षेत्रमा योजना छनोट गर्न पाउने कार्यक्रम राखेका थिए । पछि एमालेकै अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्यक्रम बजेटबाट हटाएका थिए ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सांसदहरुले बजेटका लागि अर्थमन्त्रीलाई विभिन्न सुझाव दिएको बताए ।
बजेटमा पछाडि परेको क्षेत्र, वर्ग समुदायलाई विशेष व्यवस्था गर्नुपर्ने, महिला आदिवासी जनजाति, पिछडिएको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव सांसदहरुले राखेको लेखकले बताएका छन् ।