सिंगापुरलाई पराजित गर्दै कुवेत सेमिफाइनमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८२ दिन अगाडि
सिंगापुरलाई पराजित गर्दै  कुवेत सेमिफाइनमा

काठमाडौं - राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा सिंगापुरलाई पराजित गरि कुवेतले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । 

सेमिफाइनल प्रवेशका लागि कुवेतले बिहिबार हुने खेलमा हङकङलाई पराजित गर्नु पर्ने हुन्छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा समूह 'बी' मा रहेको कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको १ सय १४ लक्ष्य कुवेतले २६ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । 

कुवेतका लागि अदनान इद्रीशले २८ बलमा ३८ रन बनाउँदा मित भावसारले ५० बलमा अविजित २७ रन बनाए । यासिन पटेलले २५ बलमा अविजित २१ रन बनाए । शीराज खानले २० बलमा १० रन बनाए । सिंगापुरमा अक्षय पुरी र विनोद बसकरनले समान २/२ तथा आदित्य भारगभ र थिलिपानी उमदुराईले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय १३ रन बनाएको हो । सिंगापुरका लागि ओपनर अर्मत्य कौलले ६० बलमा ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए । थिलिपन उमरदुराईले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लामले ८ ओभर ४ बलमा २० रन खर्चदै ५ विकेट लिए । शिराज खानले ३ विकेट लिए । तीन खेलबाट चार अंक जोडेको कुवेतले सेमिफाइनल प्रवेशको सम्भावना मजबुत बनाएको छ । बिहिबार हुने समूह चरणको खेलमा हङकङलाई पराजित गरे कुवेत फाइनलमा स्थान बनाउने छ । 

प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुरले अंक बिहिन रुपमा प्रतियोगिता सकायो । वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । 

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।