काठमाडौँ - भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले माग गरेकी छन् ।
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै राईले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताएकी हुन् ।
त्यस्तै, राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट अभावका कारण निर्माण हुन नसकेको र पठन पाठन मा समेत समस्या भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारसँग माग गरिन् ।
राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले दुर्गम क्षेत्रका विद्यार्थीले शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नपाइरहेका भन्दै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सरकारसँग माग गरिन् ।