कतारलाई हराउदै नेपाल अपराजित रुपमा सेमिफाइनल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८० दिन अगाडि
कतारलाई हराउदै नेपाल अपराजित रुपमा सेमिफाइनल

काठमाडौं - राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारलाई हराउदै नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको छ । 

टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।

कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए ।ईनिङको पहिलो बलमा नै छक्का प्रहार गरेर नेपाललाई केही दबाब दिएको कतारले लगातार विकेट गुमाउदा खेल गुमायो ।

नेपालका लागि सन्दपि लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । सन्दीपले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिएका थिए । ललितनारायण राजवंशीले २ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो । 

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए । 

दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो । 

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए । चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ । शनिबार नेपालले समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।