राज्याभिषेकमा चार्ल्स तृतीयले लगाउने सुनको पहिरन सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७५ दिन अगाडि
राज्याभिषेकमा चार्ल्स तृतीयले लगाउने सुनको पहिरन सार्वजनिक

एजेन्सी - बेलायतका राजा चार्ल्स तृतीयले राज्याभिषेकको क्रममा लगाउने पहिरन सार्वजनिक भएको छ । उनले त्यस दिन निकै गह्रुँगो र पुजारीले लगाउने खालको रोब्स लगाउने छन् । 

उनले राज्याभिषेकमा निकै टल्किने कपडाहरू लगाउने छन् । तीमध्ये केही त उनका जिजु बुवा जर्ज पञ्चमका लागि बनाइएका थिए । समारोहमा राजकुमार विलियम्सले आफ्ना पितालाई ‘सेरेमोनियल रोब’ पहिराउन सहयोग गर्नेछन् । राज्याभिषेकका बेला राजालाई सुनको बाहुला भएको कोट लगाउन दिइनेछ जसलाई सुपरट्युनिका भनिन्छ । 

यो रोब जर्ज पञ्चमका लागि सन् १९११ मा बनाइएको थियो । त्यसपछि यसलाई लगातार राज्याभिषेकमा लगाइने गरिन्छ । रानी एलिजाबेथ द्वितीयले पनि यो पहिरेकी थिइन् ।

यसको तौल करिब २ केजी छ । यो बनाउन सुनको कपडा प्रयोग भएको छ । सिल्कको धागोले मसिना सुन र चाँदी बेह्रिएका छन् । यसको एम्ब्रोइडरीलाई पनि निकै स्टाइल दिइएको छ ।

सुपरट्युनिकाको माथि भुईँसम्म छुने इम्पेरियल म्यान्टल वा रोब रोयल भनिने एउटा विशेष खालको लुगा लगाइनेछ । यसलाई सन् १८२१ मा जर्ज चौथोका लागि बनाइएको थियो र यसको तौल ३ देखि ४ किलो छ ।

छातीमा बाँधिने मेन्टलमा सुनौलो चिलको आकृति हुनेछ । यो प्राचीन समयमा राज्याभिषेकको क्रममा लगाइने पहिरनबाट प्रेरित छ । यो पनि सुनको कपडाले बनाइएको हुन्छ । राज्याभिषेकमा राजाले बेल्ट र पञ्जा भने आफ्ना हजुरबुवा जर्ज छैटौँले राज्याभिषेकका बेला लगाएको नै लगाउने छन् ।

‘यो राजाको निजी निर्णय थियो,’ किङ्ग्स वर्क्स अफ आर्टको रोयल कलेक्सन ट्रस्टकी उप–सर्वेक्षकले यसबारे जानकारी दिइन् । ‘यी वस्तुहरू उल्लेखनीय अवस्थामा छन्,’ उनले भनिन् ।

चार्ल्स तृतीया र क्यामिलियाको आउँदो शनिवार (मे ६) मा राज्याभिषेक गरिँदै छ । कार्यक्रममा नेपालका परराष्ट्र मन्त्री एनपी साउदलगायतका विश्वका विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।