रुपन्देहीमा २ सय २८ जनाले त्यागे नेपाली नागरिकता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११८ दिन अगाडि
रुपन्देहीमा २ सय २८ जनाले त्यागे नेपाली नागरिकता

काठमाडाै‌ -रुपन्देहीमा २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्।  रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश जानेहरूले उतैको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेका हुन्। २०६८ सालमा तिलोत्तमाकी रिना सार्कीले बेलायतको नागरिकता लिन पहिलोपटक नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासनको रेकर्डमा छ। त्यस्तै गएको चैत दोस्रो साता सियारी गाउँपालिकाकी स्वस्तिमा कामीले पनि बेलायतको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्याग गरेकी छन्। यसअघि २०७५ साल भदौ ६ गते बुटवलका एकै परिवारका ५ जनाले एकैदिन नेपाली नागरिकता त्यागेका थिए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कानूनतः दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहरू बढिरहेको बताए।उनका अनुसार पछिल्लो एक वर्षमा मात्रै रुपन्देहीका २८ जनाले नेपाली नागरिकता त्यागेका छन्। भारतलगायत तेस्रो मुलुकको नागरिकता लिने भन्दै स्वदेशी नागरिकता त्याग्ने गरेको उनले बताए। 

कुनैपनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूचि ९ अनुसार दुतावास, गृहमन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ। नेपाली नागरिकता त्यागेर सबैभन्दा बढी बेलायत र हङकङको नागरिकता लिने बढी छन्। यस्तै सिंगापुर, अष्ट्रिया, कोरिया, क्यानडा, अमेरिका, भारत लगायतका मुलुकको नागरिकता लिनेक्रम पनि बढेको छ। स्वदेशमा अवसर नहुनु, राजनीतिक अस्थिरता, विदेशमा श्रमअनुसारको पारिश्रमिक पाउनु र भविष्यको सुरक्षाको खोजी लगायतका कारण पनि नेपालीहरूले स्वदेशी नागरिकता त्यागेर विदेशी नागरिकता लिइरहेका छन्।