काठमाडौं - आइतबार राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा सुनुवाई नहुने भएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार सन्दीपको मुद्दामा पेशी तोकिएको थियो । सन्दीपको मुद्दाको पेशी न्यायाधीश भोलानाथ ढकालको इजलासमा परेको थियो।
तर, न्यायाधीश ढकाल बिदामा बसेपछि सुनुवाइ स्थगित भएको हो । सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्न जिल्ला अदालतलाई आदेश दिएपनि पनि पेशी स्थगित हुँदै आईरहेको छ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
थुनामुक्त भएका सन्दीपले राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेलहरु खेलिसकेका छन् । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।