काठमाडाैं -कांग्रेसका राष्ट्रिय सभा दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ।
आज राष्ट्रिय सभाको बैठक सुरु भएसँगै एमालेले उनको अभिव्यक्तिलाई लिएर नियमापत्ति जनाएको हो। सोमबार बसेको बैठकमा नेकपा एमालेले आइतबारको बैठकमा कांग्रेसका राष्ट्रिय सभामा दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो।
आइतबार राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको झड्केलो छोरो भन्ने अभिव्यक्ति दिएका थिए।सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो। बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे। उनले यस्ता शब्दहरूले संसद् र सांसद स्वयंको पनि गरिमा घट्ने बताए। नियमापत्तिसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियमविरुद्धमा रहेको भए मंगलबारको बैठकमा जानकारी गराउने प्रतिबद्धता जनाए।