काठमाडाै -अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्ने कुराको अन्त्य गर्ने बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताएका हुन् । उनले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्न सके विदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानी पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताए । अर्थमन्त्री महतले वैदेशिक लगानीका सीमा फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान नबनाई वैदेशिक सहायता नआउने बताए । उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए ।
अर्थमन्त्री महतले आफ्नो पूरा कोसिस लगानीको वातावरण सिर्जना गर्न रहेका व्यवधान खोल्नु रहेको बताए । उनले संसदमा अहिले अर्थतन्त्रको पूरा शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकैपटक गर्दा अप्ठ्यारो हुने बताए । संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने बताएका थिए । स्वर्णिमले उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताए । अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोडम्याप बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताए ।