काठमाडौं - नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धानलाई सहयोग गर्न पार्टी सचिव टोपबहादुर रायमाझीलाई संसद मार्फत पनि आग्रह गरेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी गराएका हुन् ‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ । यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्’ गुरुङले भने ।
प्रतिनिधिसभा सदस्य रायमाझी एमालेका सचिव हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ र उनी फरार छन् । भ्रष्टाचारका मुद्दाहरुको अनुसन्धान गर्ने सरकारको कार्यमा आफ्नो पार्टीको समर्थन रहने उपमहासचिव गुरुङले बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले जुन खालको अनुसन्धान सुरु गरेको छ।सरकार तलमाथि दायाबायाँ नगरीकन लागोस् । दोषीहरु कोही नछुटुन्, निर्दोष व्यक्ति कोही पनि नपरुन् भन्ने अभियानका साथ लागोस्, नेकपा एमाले यो सरकारको काममा सहयोग र समर्थन गर्छ’ उनले भने ।