मिस नेपाल प्रियंकाले वनसम्बन्धी राष्ट्रसंघीय फोरममा सहभागिता जनाउने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८७ दिन अगाडि
मिस नेपाल प्रियंकाले वनसम्बन्धी राष्ट्रसंघीय फोरममा सहभागिता जनाउने

काठमाडौं -मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरमको अठारौं सत्रमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छन् ।

बिहीबार राति राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट एक भिडियो सन्देश जारी गर्दै उनले यो अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिनिधिको रुपमा भाग लिन पाउँदा खुसी लागेको बताएकी छन् ।विश्वसुन्दरी प्रतियोगिता मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि दाता जुटाउन अमेरिका पुगेकी प्रियंकाले त्यस क्रममा राष्ट्रसंघको सत्रमा सहभागिता जनाउन लागेकी हुन् । यो सत्रमा आफूले जलवायु संकटले वन र पर्यावरणमा पारेको असरको कुरा गर्ने उनले बताएकी छन् । 

‘यो मेरा लागि निकै खुसीको कुरा हो । देशको प्रतिनिधित्व गर्दै वन र पर्यावरणसम्बन्धी मुद्दालाई राष्ट्रसंघको महत्वपूर्ण मञ्चमा प्रस्तुत गर्न लागेकी छु,’ उनले भनेकी छन् । यो मञ्चमा भाग लिइरहँदा आफूले ब्युटी विथ पर्पसलाई समेत केन्द्रमा राखेको उनले बताएकी छन् । प्रियंकाले विभिन्न अमेरिकी राज्यको भ्रमण गर्दै च्यारिटी गालामा समेत भाग लिइरहेकी छन् । उनको लागि केही राज्यले दाता जुटाउन सहजता दिलाउन नेपाली समुदायले च्यारिटी डिनरको आयोजना गरेका थिए ।