काठमाडाै -सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच सैनिक र पाँचजना शेर्पाले सोमबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
बिहान १० बजेर पाँच मिनेटमा उनीहरुले सगरमाथाको सर्वोच्च शिखर आरोहण गरेका हुन्। सैनिक प्रबक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा रहेको हिमाल सफाइ अभियानमा सहभागी सेनाका सह सेनानीद्वय बिष्णुबल राई र दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगुले सगरमाथाको शिखर आरोहण गरेका हुन्। सोही अभियानमा सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँचजना शेर्पाहरु पनि सेनासँगै सगरमाथाको चुचुरो पुगेका छन्।
यसअघि बैशाख ०४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्। गत चैत १४ गते जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाइ टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए। हिमाल सफाइ अभियानबाट करिब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर संकलन भइसकेको सेनाले जनाएको छ।