सीमित व्यक्ति तथा समूहले बैंकको ठूलो स्रोत-साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या -प्रधानमन्त्री दाहाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५८ दिन अगाडि
सीमित व्यक्ति तथा समूहले बैंकको ठूलो स्रोत-साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या -प्रधानमन्त्री दाहाल

 काठमाडाै‌ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत-साधन उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा काठमाडौँमा आयोजित 'अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भाबी कार्यदिशा'सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उपलब्ध स्रोत, साधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका हुन् । उनले बैंकिङ क्षेत्रबाट भएको लगानीको आकार अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको बताए ।

‘बैंकिङ क्षेत्रको विकास र विस्तारबाट देशमा वित्तीय पहुँच बढेको छ । कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पनि पुगेको छ,' उनले भने, 'तर बैंकिङ क्षेत्रबाट भएको लगानी आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ । त्यसैगरी सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत-साधनको उपयोग गर्ने, प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने जस्ता समस्या देखिए । अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार छन् ।’ प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताए।