काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् ।
सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने उल्लेख गरे । उनले भने, ‘ १५ वर्षसम्म हामीले हेर्यौं केही हुन सकेन, बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो तर शिक्षालाई बजारीकरण गरियो । शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो। बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन। ‘
उनले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरुको शताब्दी हुन नसक्ने स्पष्ट पारे । उनले अहिले युवाहरुमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरुरी रहेको बताए ।